शुक्र ग्रहको छाँया सूर्यमा पर्ने दुर्लभ
खगोलिय संयोग भेनस ट्रान्जिट अहिले देखिएको छ । पृथ्वी, शुक्र र सूर्य एउटै
सरल रेखामा पर्दा शुक्र ग्रहको छाँया सूर्यमा पर्दा भेनस ट्रान्जिटको
अवस्था देखिन्छ ।
शुक्रको सूर्यलाई परिक्रमा गर्ने सतहको ढल्काईका आधारमा हरेक ५ सय ८५
दिनमा भेनस ट्रान्जिटको अवस्था हुनुपर्ने भएपनि शताब्दीमा दुई पल्ट मात्रै
यस्तो संयोग देखिने नेपाल खगोलिय समाजका सचिव सुरेश भट्टराईले जानकारी
दिनुभयो ।
यसअघि ८ वर्षअघि सन् २००४ मा भेनस ट्रान्जिट देखिएको थियो । अब १ सय ५
वर्षपछि अर्थात् सन् २११७ डिसेम्बरमा देखिने छ । सन् २००४ मा शुक्र सूर्यको
तल्लो भाग हुँदै पार भएको थियो भने अहिले शुक्रले सूर्यलाई माथिल्लो
भागबाट छेदन गरिएको जस्तो देखिएको भट्टराईको भनाई छ ।
भेनस ट्रान्जिटका कारण सूर्य र पृथ्वी बिचको दूरी तथा पुरै ब्रम्हान्डको
आकार थाहा पाउन सहज हुने उहाँले बताउनुभयो । सूर्यमा शुक्र ग्रहको पहिलो
स्पर्श ३ बजेर ५४ मिनेटमा शुरु भएपनि नेपालमा बिहान ५ बजेर १० मिनेटमा
सूर्योेदय हुने भएकाले त्यसपछि मात्रै स्पष्ट रुपमा देख्न सकिएको छ । शुक्र
स्पर्शको मध्य ७ बजेर १६ मिनेटमा भयो भने १० बजेर ३६ मिनेटमा शुक्र
बर्हिगमन हुनेछ ।
भेनस ट्रान्जिट हेर्नका लागि सूर्यलाई खाली आँखा, बाइनाकुलर वा
टेलिस्कोपको प्रयोग गर्न नहुने खगोलविद्को सुझाव छ । यस्तै एक्सरे प्लेट,
ऐना तथा पानीमा सूर्यको प्रतिबिम्ब समेत हेर्न नहुने उनीहरुको भनाई छ ।
त्यसो गरे आँखामा खराबी आई अन्धोपन हुनसक्ने खगोलीय समाजका सचिव सुरेश
भट्टराईले बताउनुभयो ।
विशेष किसिमको टेलिस्कोप, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा
रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ्ग गर्दा प्रयोग गरिने १४ नम्बरको
चस्माबाट मात्र यसको अवलोकन गर्न सकिने उहाँको भनाई छ ।
No comments:
Post a Comment