Thursday, August 2, 2012

गुगलको चस्मा

 गुगलले एकपछि अर्को गर्दै अमेरिकाको सानफ्रान्सिस्को टेक्नोलोजी मेलामा अनौठो प्रविधियुक्त चस्मा प्रस्तुत गरेको छ। गुगलले उक्त चस्मालाई आँखामा लगाउन मिल्ने कम्प्युटर पनि भनेको छ। गुगलको यो चस्माको विशेषता के हो भने यसबाट हतारका बेला मानिसहरूसँग सूचना सम्पर्क गर्न त मिल्छ नै, इमेल र इन्टरनेटको सुविधा पनि चस्माबाटै प्राप्त गर्न सकिन्छ। यो चस्माको सहायताबाट आँखा अगाडि हेर्दाहेर्दै घटिरहेका घटनाहरूको आवाजसहित ताजा भिडियो खिच्न सकिन्छ। बाटोमा हिँड्दाहिँड्दै कुनै विशेष घटना घटिरहेको छ भने आफ्नो ब्याग वा खल्तीमा रहेको क्यामेरा निकालेर भिडियो खिच्न वा मोबाइल फोनको क्यामेराबाट फोटो खिच्न केही न केही बेर ढिला भैहाल्छ। त्यस्तो परिस्थितिमा गुगलको क्यामरायुक्त चस्माले आवाज नियन्त्रित प्रविधिको भरमा वा विशेष खालको बटनमा छोएको भरमा भिडियो खिच्न सक्छ।


गुगलले चस्माको दाहिनेतर्फको पारदर्शी सिसामै माथि क्यामेरासहितको स्क्रीन जडान गरेको छ, जसबाट हिँड्दाहिँड्दै, दौडँदादौडँदै वा आकाशमा उड्दाउड्दै भिडियो खिच्न र हेर्न सकिन्छ। यो चस्माको पहिलो परीक्षण स्काई डाइभिङ गर्ने र साइकल चालकले गरेको समाचारमा जनाइएको छ। चस्मालाई फोनसँग कनेक्ट गर्न सकिन्छ। यो चस्माको ब्याट्रीले ६ घण्टासम्म काम गर्छ। यो चस्माको फ्रेममा वेब सर्च र इमेल पढ्न सकिने तथा फोटो हेर्न सकिने सुविधा छ। गुगलको चस्माको परीक्षण संस्करण अहिले नै बाहिर आइसकेको भए पनि आमउपभोक्ता लागि भने सन् २०१४ पछि मात्र बजारमा उपलब्ध हुनेछ। यो चस्माको मूल्य अमेरिकी बजारमा १ हजार ५ सय डलर पर्छ।

No comments:

Post a Comment