Monday, August 27, 2012

१५ वर्षसम्म चार्ज

मोबाइलका ब्याट्री एकचोटि चार्ज गरेपछि कति समयसम्म टिक्न सक्छ ३ दिन ५ दिन अथवा १ हप्ता । मोबाइलमा विभिन्न सुविधा जति थपिदै जान्छ त्यतिनै यसको ब्याट्री छिटो सकिन्छ।
लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक शोमा अमेरिकी मोबाइल कम्पनी स्पेयर वनले एक यस्तो मोबाइल सेट बजारमा भित्र्याएको छ। जसमा राखीएको ब्याट्रीको चार्ज १५ वर्षसम्म टिक्न सक्छ। सो ब्याट्रीको चार्ज स्विच अफ गरेर राखेको अवस्थामा १५ वर्षसम्म टिक्न सक्ने कम्पनीले बताएको छ। साथै निरन्तर कुराकानी गरे पनि १० घण्टासम्म चार्ज टिक्ने छ।
हाल हामीले प्रयोग गरिरहेको ब्याट्रीको चार्ज स्विच अफ गरेर राखेपनी त्यसको निश्चित समयपछि चार्ज आफैँ सकिन्छ। तर यो मोबाइलको ब्याट्री भने १५ वर्षसम्म टिक्न सक्छ।
यो मोबाइल फोनको सेटमा आकस्मिक नम्बरहरु राखीएको साथै जिपिएस प्रविधिसमेत जडान गरिएको कम्पनीले जनाएको छ। यसले गर्दा मोबाइल प्रयोगकर्ता कहाँ कुन स्थानमा रहेको छ भन्ने जानकारी समेत हुनेछ।

टिसर्टबाटै मोबाइल चार्ज

Add caption
वैज्ञानिकहरूले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्युतीय ऊर्जा संचित गर्नसक्छ। यसरी विद्युत् ऊर्जा संचित गर्न सक्ने टिसर्टको  माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरूको समेत ब्याट्री चार्ज गर्न सकिनेछ। अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरूले  यस्तो प्रविधिको विकास गरेका हुन्। अनुसन्धानका क्रममा प्राध्यापक जियाओडोङ ली तथा शोधकर्ता लिहोंग बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई फ्लोराइडको घोलमा  चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च तापक्रममा पोलेका थिए। त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहे को सेलुलोज भनिने पदार्थबाट कार्बन अणुहरू एक्टिभेटेड अर्थात् रासायनिक रूपमा सक्रिय भए। यसरी कार्बन अणुहरू एक्टिभेटेड भएको  उक्त टिसर्टका रेसाहरूले इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत् चार्ज संचित गर्न क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरूले  प्रमाणित गरे। यसरी टिसर्टबाट बन्ने क्यापासिटरलाई उनीहरूले सुपर क्यापासिटर नाम दिएका छ।

आइफोन फाइभ


आइफोन फाइभ एप्पलको इतिहासमा सबैभन्दा अपेक्षा गरिएको र प्रतीक्षा गरिएको उत्पादन हो । एप्पलले आइफोन फाइभसँगै आईओएस सिक्सलाई पनि सार्वजनिक गर्नेछ । आईओएस सिक्सका फिचरबारे एप्पलले 'नेक्स्ट जेनेरेसन म्याकबुक-प्रो' लाई सार्वजनिक गर्ने क्रम प्रयोगकर्तामाझ आधिकारिक रूपमा जानकारी गराइसकेको छ ।
एप्पल 'वल्र्ड वाइड डेभलपर कन्फरेन्स (डब्लूडब्लूडीसी) मा आईओएस सिक्सबारे दिइएको जानकारीले आईओएस फाइभभन्दा बढी लोकपि्रयता पाउने देखिन्छ । आइफोन फाइभबारे अफवाह मात्र फैलिएको छ । आइफोन फाइभबारे हालसम्म आधिकारिक रूपमा जानकारी आइसकेको छैन ।
एप्पल सफ्टवेयर र हार्डवेयर दुवै प्रयोगकर्तालाई झट्का दिने सोचमा छ । आईओएसमा प्रचलित यू-ट्युब एप्लिकेसन आईओएस सिक्समा हुने छैन । पुराना आईओएस भर्जनमा जस्तो आईओएस सिक्समा यू-ट्युब एप्लिकेसन पहिलै समावेश हुने छैन ।
एप्पल मोबाइल डिभाइसबाट यू-ट्युबको बढी प्रयोग गर्नेलाई यो पक्कै दुःखको खबर हो । गुगल म्याप्स एप्लिकेसनलाई आईओएसमा समावेश नगर्ने निर्णयले यू-ट्युबको विषयमा दुविधा थपेको अनुमान छ । आईओएस सिक्सबाट यू-ट्युब प्रयोग गर्नै नपाइने भने होइन ।
आईओएस सिक्सबाट यू-ट्युबमा रहेका भिडियोको मज्जा लिन सफारी सहारा लिनुपर्नेछ । आईओएसमा गुगल म्याप्स र यू-ट्युबको नहुनुले गुगल र एप्पलबीचको तिक्तता प्रस्ट पार्छ । केही समयमा सार्वजनिक हुने भइरहेका बेला यसले एप्पललाई बजार व्यवस्थापन र प्रभाव जमाउनेमा नकारात्मक असर नपार्ला भन्न सकिन्न ।
आईओएस सिक्समा अरू आईओएसमा जस्तै यू-ट्युब समावेश नहुने ठोस कारण भने अहिलेसम्म राम्ररी खुल्न सकेको छैन । मोबाइल अपरेटिङ सिस्टममा एप्पलको निकटतम प्रतिद्वन्द्वी गुगल हो । गुगलको एन्डोइड चलाउनेको संख्या पनि कम छैन । गुगल आईओएस सिक्सका लागि 'गुगल ड्राइभ, जीमेल फर आईओएस' जस्तै 'स्ट्यान्डअलोन' यू-ट्युब एप्लिकेसन बनाउन लागि परेको छ ।
आईओएसका पुराना प्रयोगकर्ताले भने पहिले नै समावेश भइसकेको यू-ट्युब एप्लिकेसनलाई निरन्तरता दिन सक्नेछन् । आईओएस प्रयोगकर्ताले यू-ट्युबलाई मिस गरे पनि आईओएसमा थपिएका फिचरले आईओएसलाई नै निरन्तरता दिने पक्षमा सोच्न बाध्य बनाउनेछ ।
आइफोन फोरएसको आकर्षण बनेको सिरीलाई आईओएस सिक्समा अझै परिमार्जित गरिएको छ । अब सिरीलाई फोन, टेक्स्ट गर्न लगाउनेबाहेक सिनेमा, खेल आदिबारे सोध्न सकिन्छ । एप्पल मोबाइल डिभाइसबाट सोसल नेटवर्कमा अपडेट हुन टि्वटरलाई आईओएस फाइभमा सम्मिलित गरिएको थियो ।
आईओएस सिक्समा फेसबुकको सुविधा थपिएको छ । फोन वालेटको अवधारणालाई पासबुकले राम्रो साथ दिनेछ । वाईफाईमा निर्भर फेसटाइम सेल्युलरबाट पनि प्रयोग गर्न सकिन्छ । फोन कलसँग सम्बन्धित पनि धेरै सुविधा थप छ । भीआईपी मेल, फोटो स्टिम लगायतका अन्य केही आईओएस सिक्समा हुने फिचर हुन् ।
आईओएस सिक्स सार्वजनिक हुन केही समय बाँकी छ । तर एप्पलले डेभलपका लागि भने आईओएस सिक्स उपलब्ध गराइसकेको छ । एप्पल मोबाइल डिभाइसमा आइफोन फोरएस, आइफोन फोर, आइफोन थ्रीजीएस, आइप्याड टु, न्यु आइप्याड र फोर्थ जेनेरेसन आइपडबाट आईओएस सिक्स प्रयोग गर्न सकिन्छ ।

Saturday, August 25, 2012

मंगलमा रोभरको पहिलो ‘टेस्ट ड्राइभ’


नासाको मार्स रोभर क्युरियोसिटीले बुधबार आफूले अवतरण गरेको स्थानबाट अन्यत्र गुडेर आफ्नो पहिलो ‘टेस्ट ड्राइभ’ गरेको छ । ‘क्युरियोसिटीले मंगल ग्रहमा आफ्नो पहिलो सफल टेस्ट ड्राइभ’ गरेको छ । हाम्रो रोभरको सवारी संयन्त्रले राम्रोसँग काम गरिरहेको छ ।’ क्यालिफोर्नियास्थित नासाको जेन प्रोपल्सन ल्याबोरेटोरी (जेपीएल) का रोभर योजनाकार म्याट् ह्याभरलीले भने । साढे दुई अर्ब डलरको यान रातो ग्रहको ग्याले क्रेटरमा गएको ६ अगस्टमा अवतरण गरिएको थियो । बुधबार ९० डिग्रीमा घुम्नुअघि उसले चार मिटरको यात्रा तय गरेको थियो । त्यसपछि ऊ केही मिटर फर्केको थियो ।
‘रोभर १६ दिनअघि अवतरण भएको स्थानबाट करिब २० फिट सरेको छ ।’ अमेरिकी अन्तरिक्ष निकाय नासाले जारी गरेको विज्ञप्तीमा भनिएको छ । रोभले लिएको तस्बिरले पांग्राहरू मंगलको सतहमा गुडेको प्रष्ट पारेको छ । मंगलमार जीवनको संकेतको खोजीमा पूर्ण रुपमा लाग्नअघि क्युरियोसिटीले केही परीक्षणहरू पार गर्नु पर्नेछ । ‘हामी दुई वर्ष लामो मिसनको १६ औं दिनमा छौं,’ मार्स साइन्स ल्याबोरेटोरीका प्राजेक्ट म्यानेजर पेटे थिसिंगरले भने, ‘हामीले नमुन संकलन क्षमताको अभ्यास गरिसकेका छैनौं, जुन रोभरको वैज्ञानिक मिसनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।’
‘त्यसैले यो जति राम्रो भयो त्यति नै अनौठो छ । हामी अझै पनि पहिलो स्तरको दुई वटा परीक्षण मात्र गरेका छौं । मिसनको पूर्ण सम्भावनामा पुग्न हामीले अझै धेरै काम गर्नुछ ।’ उनले थपे । नासाले रोभर ओर्लिएको स्थानको नाम ‘ब्राडबुरी’ राख्ने क्युरियोसिटी समूहको प्रस्तावलाई सदर गरेको छ । यो नाम ‘द मार्टियन क्रोनिकल्स’ र ‘फेरेन्हाइट ४५१’ का लेखकको सम्मानमा राखिएको हो, जसको ९२ औं वार्षिकी बुधबार थियो । उनको मृत्यु गएको जुनमा भएको थियो । ‘उहाँको सम्मानमा क्युरियोसिटीले छोएरको मंगल भूमिको नामा हामीले ब्राडुबुरी ल्यान्डिङ राखेका छौं,’ नासाको मंगल अनुसन्धान कार्यक्रमका मुख्य वैज्ञानिक माइकल मेयेरले भने, ‘आज उहाँ हुनु भएको भए ९२ वर्षको हुनु हुने थियो ।
हामी वास्तवमै उहाँका पुस्तकहरूबाट प्रभावित छौं ।’ ‘मार्टियन क्रोनिकल्स’ बाटै मंगलमा जीवनको संभावना हुनसक्ने विचार पैदा भएको हो । वैज्ञानिकहरूले त्यहाँ एलियन वा जिवित प्राणी भेटाउने अपेक्षा गरेका छैनन् तर उनीहरूले त्यहाँको माटो र चट्टान जीवनमा जीवनको संकेत छ कि छैन भन्ने खोज्नेछन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०३० सम्ममा मंगलमा मानिस पठाउने वाचा गरिसकेका छन् ।

Tuesday, August 7, 2012

अमेरिकी यान मंगलग्रहमा

रहस्यको ठूलो पोको बोकेर मंगलग्रहतर्फ उडेको यान नउत्रुन्जेल वैज्ञानिकहरू ठूलो ढुकढुकीमा बसेका थिए । तर, सोमबार बिहान भने उनीहरूले सफलताको सास फेरेका छन् । जीवन खोजीका लागि पठाइएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अहिलेसम्मकै ठूलो रोबोट प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला 'क्युरियोसिटी' बिहान मंगलग्रहको गहिरो भूमि 'गेल क्रेटर' मा सुरक्षित अवतरण गरेको छ । यसले बाह्य विश्वमा अमेरिकी नेतृत्वमा मंगलग्रहको अनुसन्धानलाई नयाँ आधार प्राप्त भएको छ ।

अन्तरिक्ष विज्ञानमै यो रोचक क्षण नजिकिँदै जाँदा वैज्ञानिकहरू पनि मुटुको ढुकढुकी थामेर बसेका थिए । ओर्लिएको संकेत पाउनेबित्तिकै यो मिसनको नियन्त्रण कक्ष अमेरिकाको क्यालिफोर्निया पासाडेनास्थित जेट प्रोपल्सन लेबोरेट्री (जेपीएल) मा वैज्ञानिकहरूले खुसियाली मनाउन थाले । दसवर्षे यो योजनामा ज्यान फालेर लागेका उनीहरूले हावामा हत्केला ठोक्काउँदै (चस) अंकमाल गरे ।

रहस्यको ठूलो पोको बन्दै आएको यो ग्रहका लागि सन् २०११ को २६ नोभेम्बरमा यान छोडिएको थियो । यो यानले झन्डै २४ हजार करोड माइल (५७ अर्ब किमि) को दूरी तय गरी मंगलग्रहमा पुगेको हो । 'न्युक्लियर फ्युल' ले सञ्चालन हुने यो यानले नासाको ओडिसे भूउपग्रह मार्फत करिब दुई वर्षसम्म सूचना सम्प्रेषण गर्नेछ । यो ग्रहको कक्षमा स्थापित छ ।

अमेरिका र बेलायतपछि छिमेकी मुलुक भारतका इन्जिनियरहरूले पनि यो योजनामा सहयोग गरेका छन् । यसलाई 'द मार्स साइन्स लेब्रोरेट्री रोभर 'क्युरियोसिटी' नाम दिइएको हो । मंगलग्रहमा यो नासाको चौथो यान हो । गेल क्रेटरभित्रको पाँच किमि अग्लो मध्य पहाडमा यसलाई पठाइएको छ । यो क्षेत्रमा पानीको अस्तित्व फेला परिसकेको छ ।

सन् १९९७ मा ओरालिएको पहिलो रोबोट रोभर (यान) भन्दा यो चार गुणा ठूलो छ ।

महत्त्वपूर्ण भूमिका निभाउने एड्म स्टेल्त्ज्नेरले यो मिसनको बारेमा भने, 'सडकमा उभिरहेका सर्वसाधारणले यसलाई पागलपन भन्नेछन्, कहिलेकाहीं हामीलाई पनि यो पागलपन नै लाग्छ ।' जसले जे भने र सोचे पनि यो अभियानमा २ दशमलव ५ अर्ब डलर खर्च भएको छ । आँखाले सुन्दर समतल थलोमा यो बसेको देखेकोमा उनले आनन्द महसुस गरेको बताए ।

नासाका वैज्ञानिकहरूले एक अति विकसित चल्ताफिर्ता प्रयोगशाला अन्तरिक्षमा पठाएको छ । यो प्रयोगशालाबाट प्रवाह हुने जानकारी मंगलग्रहको भूमिमा लुकेको इतिहासलाई बुझ्नमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । रकेटको सहयोगबाट चल्ने 'क्रेन' को सहायताले यो यानलाई उतारिएको थियो ।

'यो निकै महत्त्वाकांक्षी र परम्परा विपरीत छ, यसको असफलतामा बहाना बनाउन सकिन्न,' स्टेल्त्ज्नेरले भने, 'मैले राम्रो मार्ग छनोट गरे पनि भाग्य खराब थियो पनि भन्न पाइन्न ।' यो यात्रालाई मंगलग्रहमा प्रवेश, सतहतिर आउनु र अवतरण गरी तीन भागमा विभाजित गरिएको थियो । अद्भुत किसिमको कवजमा ढाकिएको मार्स रोभरको तौल ९ सय किलोग्राम छ ।

नासाले पहिलो पटक यस ढाँचाको र यति ठूलो कवच बनाएको हो । हजारौं किलोमिटर प्रतिघन्टाको गतिले तल हुइँकिँदा उत्पन्न हुने २ हजार डिग्रीको तापक्रमबाट बचाउन यो कवच बनाइएको हो । मंगलग्रहको वातावरणमा प्रवेश गर्दा यसको गति २० हजार किलोमिटर प्रतिघन्टा थियो ।

छदेखि आठ मिनेटभित्र यसको चक्का मंगलग्रहको सतहसँग ठोक्किँदा यसको गति एक मिटर प्रतिसेकेन्डभन्दा बढी नहुनुपर्ने हो । तर, २० हजार किमि प्रतिघन्टाबाट एक मिटर प्रतिसेकेन्डमा आउनु निकै जटिल योजना थियो । यसो गर्नलाई रोभरको सुरक्षा कवचलाई खास मार्ग र खास कोणबाट तल आउनुपर्ने थियो । यो प्रक्रियाको क्रममा भारी तौलको केही टुक्रा सुरक्षा कवचबाट अलग्गियो । केही सेकेन्डमा बाहिरिएको रकेटले यसको बबाल गतिलाई कम गर्‍यो । यसको गतिलाई कम गर्न यो पर्याप्त थिएन ।

मंगलको सतहभन्दा करिब १ दशमलव ५ किलोमिटर माथि हुँदा पछाडिबाट निस्केको सुपर सैनिक सुपरसोनिक प्यारा सुटले यसको गतिलाई केही कम गर्दै ४ सय ५० किलोमिटर प्रतिघन्टामा झार्‍यो । सुरक्षित अवतरणका लागि यो गति बढी नै थियो । अवतरणको अन्तिम चरणमा भित्री रोभरलाई खरानी हुनबाट बचाइरहेको एक कवचको टुक्रा अलग भयो । यसपछि रकेटले जोडिएको उड्ने क्रेन निस्केर रोभरलाई सुरक्षित थलोमा छाडेर गयो । पृथ्वीमा नियन्त्रणबिना 'अटोमेटिक' अर्थात् स्वचालित ढंगले भएकाले सबै आश्चर्यमा परे ।

सन् १९७० को दशकदेखि सन् २००८ को फिनिक्स अभियानसम्म मंगलको हरेक रोभर अभियानमा ग्रहमाथि ओर्लिनलाई पहिलेको भन्दा राम्रो प्रणाली थियो । तर, पहिलो पटक मंगलग्रहको सबभन्दा गहिरो खाल्डोमा यसलाई ओराल्ने प्रयास गरिएको थियो । यसअघिसम्म वैज्ञानिकले यन्त्रलाई सुरक्षित राख्न रोभरलाई ग्रहको सतहसम्म पुर्‍याउँथे । यस पटक भने पत्थरको अध्ययन गर्नलाई सबभन्दा ढुंगे सतहमा वैज्ञानिकले यसलाई ओराल्ने चाहना राखेका थिए । मंगलमा जीवनको रहस्य यसको पत्थर र चट्टानमा लुकेको वैज्ञानिकहरूको ठम्याइ छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाका वैज्ञानिक सल्लाहकार जोहन होल्डे्रनले यो अवसरमा टिप्पणी गर्न चुकेनन् । 'ग्रह खोजको इतिहासमा हरेक दृष्टिकोणले अहिलेसम्म प्रयास गरिएको सबभन्दा चुनौतीपूर्ण मिसन हो,' उनले भने ।

यानको पछाडिको भागमा राखिएको क्यामेराले पांग्राले मंगलको धर्तीमा छोएको धूले चित्र पठाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त उपलब्धि अमेरिकी गौरवको एकल स्रोत भएको दाबी गरेका छन् । 'अर्को ग्रहमा हालसम्म अवतरण गराइएको सबैभन्दा जटिल प्रयोगशालायुक्त गाडी क्युरोसिटीको सफलतापूर्वक अवतरणले प्रविधिमा अभूतपूर्व उपलब्धि दिएको छ, यो भविष्यमा राष्ट्रिय गौरवको विन्दुको रूपमा रहनेछ,' राष्ट्रपति ओबामाले एक विज्ञप्तिमा भनेका छन् । उनले अमेरिकी सिर्जनात्मक क्षमता तथा दृढताको मौलिक संगमसँग कुनै पनि दीर्घ कठिनाइले चुनौती दिन नसक्ने दाबी गरेका छन् ।

सन् १९६० मा आरम्भ भएको विश्वव्यापी अन्तरिक्ष अभियानमा यसअघि मंगलमा अवतरण गर्ने, त्यसको कक्षमा घुम्ने र मंगल नजिकै अन्तरिक्ष यान पुग्ने प्रयासमा ४० प्रतिशत मात्र सफलता प्राप्त भएको थियो । नासाले यसअघि मंगलग्रहका लागि भाइकिङ १ तथा २ (सन् १९७६), पान्थर (सन् १९९७), स्पिरिट तथा अपरचुनिटी (सन् २००४) तथा फोनिक्स (सन् २००८) अभियान चलाएको थियो । फ्रान्सको टुलुज अन्तरिक्ष केन्द्र तथा मंगल विज्ञान प्रयोगशाला तथा जिज्ञासामा करिब १ हजार व्यक्तिले उक्त रातो ग्रहमा फ्रान्सेलीहरूले सञ्चालन गर्ने दुई उपकरणका साथमा उक्त गाडी अवतरण भएको हेरे ।

फ्रान्सको सिनेस अन्तरिक्ष अनुसन्धान केन्द्रका मार्क पिचरले गाडीको अवतरण रहस्यले भरिएको कुरा रहेको र अब वैज्ञानिकहरूका लागि फाइदा आरम्भ भएको उल्लेख गरे । टुलुज अन्तरिक्ष केन्द्रले फ्रान्सेली मंगल उपकरण सञ्चालन केन्द्रलाई क्युरियोसिटीमा रहेको दुई उपकरण केमक्याम तथा मिश्रण विभाजन यन्त्र साम जीसीलाई सञ्चालन गर्न सहयोग गर्नेछ । केमक्याम (रासायनिक क्यामरा) ले ढुंगा तथा माटोलाई विश्लेषण गर्नेछ र वैज्ञानिकहरूको अभिरुचिलाई विचार गर्नेछ । साम जीसीले त्यहाँ रहेका ग्यासका प्रकार, यसको मापन तथा पहिचानमा विश्लेषण गर्नेछ ।

Thursday, August 2, 2012

‘भेनस ट्रान्जिट’

शुक्र ग्रहको छाँया सूर्यमा पर्ने दुर्लभ खगोलिय संयोग भेनस ट्रान्जिट अहिले देखिएको छ । पृथ्वी, शुक्र र सूर्य एउटै सरल रेखामा पर्दा शुक्र ग्रहको छाँया सूर्यमा पर्दा भेनस ट्रान्जिटको अवस्था देखिन्छ ।
शुक्रको सूर्यलाई परिक्रमा गर्ने सतहको ढल्काईका आधारमा हरेक ५ सय ८५ दिनमा भेनस ट्रान्जिटको अवस्था हुनुपर्ने भएपनि शताब्दीमा दुई पल्ट मात्रै यस्तो संयोग देखिने नेपाल खगोलिय समाजका सचिव सुरेश भट्टराईले जानकारी दिनुभयो ।
यसअघि ८ वर्षअघि सन् २००४ मा भेनस ट्रान्जिट देखिएको थियो । अब १ सय ५ वर्षपछि अर्थात् सन् २११७ डिसेम्बरमा देखिने छ । सन् २००४ मा शुक्र सूर्यको तल्लो भाग हुँदै पार भएको थियो भने अहिले शुक्रले सूर्यलाई माथिल्लो भागबाट छेदन गरिएको जस्तो देखिएको भट्टराईको भनाई छ ।
भेनस ट्रान्जिटका कारण सूर्य र पृथ्वी बिचको दूरी तथा पुरै ब्रम्हान्डको आकार थाहा पाउन सहज हुने उहाँले बताउनुभयो । सूर्यमा शुक्र ग्रहको पहिलो स्पर्श ३ बजेर ५४ मिनेटमा शुरु भएपनि नेपालमा बिहान ५ बजेर १० मिनेटमा सूर्योेदय हुने भएकाले त्यसपछि मात्रै स्पष्ट रुपमा देख्न सकिएको छ । शुक्र स्पर्शको मध्य ७ बजेर १६ मिनेटमा भयो भने १० बजेर ३६ मिनेटमा शुक्र बर्हिगमन हुनेछ ।
भेनस ट्रान्जिट हेर्नका लागि सूर्यलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गर्न नहुने खगोलविद्को सुझाव छ । यस्तै एक्सरे प्लेट, ऐना तथा पानीमा सूर्यको प्रतिबिम्ब समेत हेर्न नहुने उनीहरुको भनाई छ । त्यसो गरे आँखामा खराबी आई अन्धोपन हुनसक्ने खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो ।
विशेष किसिमको टेलिस्कोप, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ्ग गर्दा प्रयोग गरिने १४ नम्बरको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिने उहाँको भनाई छ ।

पानी विना नै नुहाउन सकिने

दक्षिण अमेरिकाका लडविक मरिसेनले नयाँ नुहाउने जेलको आविस्कार गर्नुभएको छ । ड्राइबाथ नाम दिईएको यो जेलले पानी र साबुन दुवैको काम गर्छ । यो विश्वमा लोकप्रिय पनि हुँदै गइरहेको छ ।
२२ वर्षिय मरिसेनले यूनिभर्सिटी अफ केप टाउनमा अध्ययनरत् हुनुहुन्छ । उहाँलाई यो आविष्कार गर्ने सोच नुहाउन अल्छी गर्ने उहाँकै साथीले दिएका हुन् । कसैले पानी बिना नुहाउन सकिने उपाय निकाले पनि हुन्थ्यो भन्ने साथीको ठट्टालाई गम्भीर रुपमा लिएर उहाँले यो आविष्कार गर्नु भएको हो ।
यो अहिले विमान कम्पनीले लामो यात्रामा रहेका यात्रीको लागि र कतिपय सरकारले आफ्ना युद्ध मैदानमा रहेका सैनिकका लागि प्रयोग गरिरहेका छन् । यो उत्पादन अफ्रिका र विश्वका गरिब मुलुकहरु जहाँ साधारण स्वास्थ्य समस्या छ त्यहाँ काम लाग्छ । त्यस्तै पानीको समस्या भएको ठाँउमा पनि यो अति उपयोगी हुन्छ ।
६ महिना लगाएर आविश्कार गरिएको यो जेल हात धुन अरु जेल भन्दा फरक छ । यसले कुनै गन्ध निकाल्दैन र शरिरमा कोमलपन ल्याउँछ ।

गुगलको चस्मा

 गुगलले एकपछि अर्को गर्दै अमेरिकाको सानफ्रान्सिस्को टेक्नोलोजी मेलामा अनौठो प्रविधियुक्त चस्मा प्रस्तुत गरेको छ। गुगलले उक्त चस्मालाई आँखामा लगाउन मिल्ने कम्प्युटर पनि भनेको छ। गुगलको यो चस्माको विशेषता के हो भने यसबाट हतारका बेला मानिसहरूसँग सूचना सम्पर्क गर्न त मिल्छ नै, इमेल र इन्टरनेटको सुविधा पनि चस्माबाटै प्राप्त गर्न सकिन्छ। यो चस्माको सहायताबाट आँखा अगाडि हेर्दाहेर्दै घटिरहेका घटनाहरूको आवाजसहित ताजा भिडियो खिच्न सकिन्छ। बाटोमा हिँड्दाहिँड्दै कुनै विशेष घटना घटिरहेको छ भने आफ्नो ब्याग वा खल्तीमा रहेको क्यामेरा निकालेर भिडियो खिच्न वा मोबाइल फोनको क्यामेराबाट फोटो खिच्न केही न केही बेर ढिला भैहाल्छ। त्यस्तो परिस्थितिमा गुगलको क्यामरायुक्त चस्माले आवाज नियन्त्रित प्रविधिको भरमा वा विशेष खालको बटनमा छोएको भरमा भिडियो खिच्न सक्छ।


गुगलले चस्माको दाहिनेतर्फको पारदर्शी सिसामै माथि क्यामेरासहितको स्क्रीन जडान गरेको छ, जसबाट हिँड्दाहिँड्दै, दौडँदादौडँदै वा आकाशमा उड्दाउड्दै भिडियो खिच्न र हेर्न सकिन्छ। यो चस्माको पहिलो परीक्षण स्काई डाइभिङ गर्ने र साइकल चालकले गरेको समाचारमा जनाइएको छ। चस्मालाई फोनसँग कनेक्ट गर्न सकिन्छ। यो चस्माको ब्याट्रीले ६ घण्टासम्म काम गर्छ। यो चस्माको फ्रेममा वेब सर्च र इमेल पढ्न सकिने तथा फोटो हेर्न सकिने सुविधा छ। गुगलको चस्माको परीक्षण संस्करण अहिले नै बाहिर आइसकेको भए पनि आमउपभोक्ता लागि भने सन् २०१४ पछि मात्र बजारमा उपलब्ध हुनेछ। यो चस्माको मूल्य अमेरिकी बजारमा १ हजार ५ सय डलर पर्छ।