Wednesday, January 25, 2012

सम्झने नयाँ तरीका

गाह्रो फन्टबाट पढ्नुस् सजिलै याद हुन्छ
आफूले पढेका कुरा सजिलै याद हुन्न भने अब नआत्तिनुस् । पढेको कुरा राम्ररी संझने यौटा नयाँ उपाय पत्ता लागेको छ । प्रिन्स्टन युनिभर्सिटीका अध्येताहरुको एक समूहले हालै पत्ता लगाए अनुसार गाह्रो अक्षरहरुबाट पढेको कुरा सजिलै याद हुन्छ ।

अध्येताहरुले विद्यार्थीहरुलाइ कठीन खालका फन्टहरु पढ्न दिइ १५ मिनेट पछि त्यसको कत्तिको याद भयो भनी परीक्षण गर्दा यो तथ्थ पत्ता लागेको हो । अध्ययन परिणाम अनुसार पाठ संझन गाह्रो हुने विद्यार्थीलाइ अप्ठ्यारा फन्टहरुमा पढाउने हो भने स्कुलहरुले राम्रो नतिजा हासिल गर्न सक्ने उनीहरुको दावी छ ।

अनुसन्धानमा संलग्न गराइएका २८ स्वयंसेवी विद्यार्थीलाइ ७ भिन्न भिन्न फन्टहरुमा लिखित एउटै सन्देश ९० सेकेन्डसम्म संझन लगाइएको थियो । सहभागी ती विद्यार्थीहरुमध्ये कसैलाइ पनि भिन्न भिन्न फन्ट दिइएको बारे जानकारी थिएन ।

पहिलो समूहलाइ १६ प्वइन्टको एरियल प्योर ब्ल्याक फन्ट दिइएको थियो जुन पढ्न सबैभन्दा सजिलो मानिन्छ । अरु समूहहरुलाइ पनि त्यही सन्देश तर १२ प्वइन्टको कमिक सान्स एम एस ७५ ग्रेस्केल वा १२ प्वइन्ट बोडोनी एमटी ७५ ग्रेस्केल दिइएको थियो । पाठ्य सन्देश ती सहभागीहरुलाइ १५ मिनेटसम्म दिइ उनीहरुले कति संझन सके भनी परीक्षण गरिएको थियो ।

परिणाम के निस्क्यो भने जुन जुन व्यक्तिलाइ गाह्रो फन्ट पढ्न दिइएको थियो उनीहरुले अरुहरुले भन्दा १४ प्रतिशत बढी संझेको पाइयो । बैज्ञानिकहरुका अनुसार डिस्फ्लुएन्सीको यो एउटा सकारात्मक परिणाम हो । अध्ययन प्रतिवेदनका सहलेखकहरुमध्येका एक प्राध्यापक ड्यानियल ओप्पेनहैमेरका अनुसार कुनै पनि पाठ खर्रर्र पढ्न नसक्नु भएनेको डिस्फ्लुएन्सी हो । यसलाइ हाम्रो मस्तिष्कको कार्यक्षमतामा आउने कठिनाइका रुपमा पनि बुझ्न सकिन्छ ।

यदि कुनै कुरा राम्ररी सुन्न वा बुझ्न सकिएन भने त्यो डिस्फ्लुएन्ट हुन्छ । त्यसरी डिस्फ्लुएन्ट हुँदा बुझ्नका लागि थप प्रयत्न गर्नुपर्छ । त्यस्तो कठीन प्रयत्नले कठीन कुरा पनि संझन मद्दत गर्ने अनुसन्धानकर्मीहरुको निष्कर्ष छ । अनुसन्धानबाट पत्ता लागेको यो तथ्य अब स्कुलहरुमा समेत प्रयोग गर्न आफूहरु एकदमै उत्साही भएको अध्येताहरुले बताएका छन् ।

No comments:

Post a Comment